‘हाम्रो नेपाल, हामी नेपाली,’ सोलुखुम्बुमा ज्ञानेन्द्र शाहीको अभियान बिस्तार

सोलुखुम्बु , २२ साउन ।सुशासनका लागि भ्रष्टाचार विरुद्धको महाअभियान भन्ने नाराका साथ ०७६ साल फाल्गुण १५ गते केन्द्रीयस्तरमा गठित ‘हाम्रो नेपाल, हामी नेपाली’ अभियान सोलुखुम्बुमा पनि बिस्तार भएको छ ।

काजी शेर्पा (स्पीड ) को संयोजकत्वमा बिस्तारित अभियानको कार्यकारी समितिमा ३३ जना रहेको अभियानका केन्द्रीय सदस्य एवं सोलुखुम्बु जिल्ला सह संयोजक लाक्पा गेल्जेन शेर्पाले जानकारी दिए।
सह संयोजक शेर्पाका अनुसार हाल लाई सोलुखुम्बु जिल्ला भित्रका सबै नगरपालिका र गाउँपालिकाका ब्यक्ति लाई समेटेर जिल्लाका लागि कार्यकारी समिति बनाइएको हो।स्थानीयस्तरमा समेत अभियानको बिस्तारलाई तीब्रता दिइएको बताउंदै शेर्पाले हाल जिल्ला समितिमा आबद्ध ब्यक्तिहरुबाट नै जिल्लामा हुने अनियमितता र अत्याचारको भण्डाफोर गर्ने बताए। आगामी दिन सोलुखुम्बु जिल्लाका प्रत्येक नगरपालिका र गाउँपालिकामा कमिटी निर्माण गरेर भ्रष्टाचार बिरोधि अभियानलाई टोलटोलमा बिस्तार गर्ने तयारी भैरहेको शेर्पाले बताए। खबरदारी अभियानबाट अनियमितता अन्त्य नभए सोलुखुम्बुमा हुने भ्रष्टाचार अन्त्यका लागि सडक आन्दोलन गर्न पनि पछि नपर्ने शेर्पाको चेतावनी छ।
देशमा शिक्षा र स्वास्थ्य नि:शुल्क हुनुपर्ने , नेपाली श्रम शक्तिलाई विदेशिनबाट रोकेर स्वदेशमै रोजगारको व्यवस्था सरकारले गर्नु पर्ने साथै सरकारीस्तरबाटै जस्तोसुकै भ्रष्टचारीलाई पनि फाँसी अथवा आजीवन कारावासको सजाएको ब्यवस्था गर्दै भ्रष्टाचार मुक्त देश घोषणा अविलम्व गर्नु पर्ने अभियानको माग रहेको जानकारी पनि उनले दिए।
अभियानमा भाग लिन जो सुकै देश प्रेमी एवं कुनै पनि राजनैतिक दलको सदस्यता नलिएका नेपाली नागरिक युवाहरुले सदस्यता लिन पाउने छन् ।भ्रष्टाचारले देश तहस-नहस पारिरहेको साथै यस्तै अवस्था रहिरहे अबका केही वर्षमै हाम्रो देश विश्वकै भोक ,रोग र अभाबमा गुज्रिएका देशहरु मध्येकै प्रथम बन्ने खतरा रहेकाले यस्तो अवस्था आउन नदिन खबरदारी गर्ने उद्देश्यले अाफुहरुले यो अभियान संचालन गरेको अभियानका प्रदेश नम्बर एक संयोजक बिकास ठाकुरको भनाइ छ।
अभियानमा आबद्ध हुन चाहनेहरुले सहसंयोजक शेर्पासंग सम्पर्क गर्न सोलुखुम्बु जिल्ला कमिटीका कोषाध्यक्ष आङ छोम्बी शेर्पाले आग्रह गरिन।

