प्रहरी समायोजनको मोडालिटी स्वीकृत

काठमाडौं,१५ साउन। गृह मन्त्रालयले तयार पारेको प्रहरी समायोजन सम्बन्धि प्रस्ताव स्वीकृत भएको छ । बुधवार प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र सातै प्रदेशका गृहमन्त्रीहरुको बैठकले समायोजन प्रस्ताव पारित गरेको हो । प्रधानमन्त्री सम्मिलित गृहमन्त्रीहरुको बैठकले महानगरीय प्रहरी कार्यालय केन्द्रीय प्रहरीकै मातहतमा रहने निर्णय गरेको छ । प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी नै रहने निर्णय भएको गृहमन्त्री ‘बादल’का सल्लाहकार सुर्य सुवेदीले जानकारी दिए ।

महानगरीय प्रहरी कार्यालय र प्रदेश प्रहरी कार्यालयका नाम भने परिवर्तन हुने भएको छ । प्रदेश–३ का आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले डीआईजीको नेतृत्वमा रहेको महानगरीय प्रहरी कार्यालय बागमती प्रदेश मातहत हुनुपर्ने कुरा उठाउँदै आएका थिए ।

