नेकपा : बैठक माग गर्दै केन्द्रीय सदस्यले बुझाए हस्ताक्षर



काठमाडौं, १४ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद उत्कर्षमा पुग्दै गर्दा नेकपाका केन्द्रीय सदस्यहरुले केन्द्रीय कमिटीको बैठकको माग गरेका छन् । नेकपाका १ सय ५३ जना केन्द्रीय सदस्यले तत्काल पार्टीको केन्द्रीय कमिटी बैठक बोलाउन माग गर्दै केन्द्रीय कार्यालय धूमबाराहीमा निवेदन दर्ता गरेका छन् । पार्टीभित्रको विवाद चरम उत्कर्षमा पुगेको र स्थायी कमिटीको बैठक पनि चल्न नसकेको भन्दै उनीहरुले बैठक तत्काल बोलाउन माग गर्दै बुधवार पार्टी कार्यालयमा निवेदन दिएका हुन् । नेकपाको विधानअनुसार एक चौथाई सदस्यले केन्द्रीय कमिटीको बैठक माग गरेको ३० दिनभित्र बैठक बोलाउनुपर्ने व्यवस्था छ ।

नेकपाको केन्द्रीय कमिटी ४ सय ४१ सदस्यीय छ । बैठक माग गर्नका लागि १ सय ११ जना आवश्यक हुन्छ । तर १ सय ५३ जनाको हस्ताक्षरसहित पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बैठकको माग गर्दै निवेदन दर्ता गरेको केन्द्रीय सदस्य ठाकुर गैरेले जानकारी दिए । पार्टी विधि, पद्दतीअनुसार सञ्चालन गर्न आवश्यक देखिएकाले बैठकको माग गरिएको नेता गैरेले जानकारी दिए ।

‘पार्टीभित्र ठूलो समस्या आयो । विधि, पद्दतीअनुसार बैठक चल्न सकेन । नेताहरुले आफ्नो तरिकाले चलाउन खोज्नुभयो’, नेता गैरेले फरकधारलाई भने, ‘त्यसैले हामी १५३ जना केन्द्रीय सदस्यहरुले केन्द्रीय कमिटीको बैठकको माग गर्दै पार्टी कार्यालयमा निवेदन दर्ता गराएका हौँ ।’ १० असारबाट जारी नेकपाको स्थायी कमिटीको बैठक मंगलबार अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सल्लाहविनै एकलौटी रुपमा स्थगन गरेका थिए । त्यसपश्चात् अध्यक्ष प्रचण्ड–नेपाल समूहका सदस्यहरुको छुट्टै बैठक बालुवाटारमा बसेको थियो । उक्त बैठकले अध्यक्ष प्रचण्डलाई अर्का अध्यक्ष ओलीसँग सहमति गरेर बैठक बोलाउने म्याण्डेट दिएको छ ।

प्रतिक्रिया दिनुहोस्