मिर्चैया-खुम्बु सडक निर्माणलाई छिटो भन्दा छिटो सम्पन्न गर्न सांसद राइको माग

काठमाडौं, १३ असार ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य समेत रहेका संघीय सांसद हेमकुमार राई ‘सुरबीर’ले बिश्वकै सर्बोच्च शिखर सगरमाथालाई स्थलमार्ग हुँदै राजधानी र तराईसंग जोड्ने सल्लेरी- खुम्बु मोटरबाटो यथासक्य छिटो निर्माण सम्पन्न गर्न भौतिक पूर्बाधार तथा यातायात ब्यबस्थामन्त्री बसन्त कुमार नेम्बाङको ध्यानाकर्षण गराउनुभएको छ।
जिल्लाको खुम्बुपासाङ ल्हामु गाउँपालिकाका जनप्रतिनिधिहरुसहित मन्त्रालय पुग्नुभएका सांसद राइले सचिब देबेन्द्र कुमार कार्की र सडक बिभागका महानिर्देशक केशव कुमार शर्मालाईसंगै राखेर सोलुखुम्बुका सडक निर्माण र स्तरोन्नतिमा भइ रहेको ढिलासुस्ती, र चालु आर्थिक बर्षका लागि बिनियोजित बजेटका सन्दर्भमा अवगत गराउंदै सांसद राइले खुम्बु क्षेत्र जोड्ने निर्माणाधीन मिर्चैया-खुम्बु सडकमार्गलाई राष्ट्रिय गौरबको योजनाका रूपमा छिटोभन्दा छिटो सगरमाथासंग जोड्नसके त्यस क्षेत्रका जनता र सोलुखुम्बुलाई मात्र नभएर सिंगो देशलाई नै फाइदा हुने बताएका थिए।
भेटका अवसरमा स्वर्ण सगरमाथा ( गाेल्डेन ट्रायाङ्गल ) ,नेले–देउसा–सोताङ–महाकुलुङ–साल्पा भञ्ज्याङ, तिङ्ला–सल्यान–नेचा , सल्लेरी- सेलगुडि डाँडा- काँकु बासा- जुभिङ्ग – लुक्लालगाएतका सडक खण्ड काे बिषयमा छलफलभएको माननीय हेमकुमार राई ‘सूरबीर’को सचिवालयले जनाएको छ। सो अवसरमा छिमेकी जिल्ला ओखलढुङ्गाका सांसद यज्ञ राज सुनुवार, खुम्बु पासाङल्हामु गाउंपालिकाका कार्यबाहक अध्यक्ष टाशील्हामु शेर्पा , प्रमुख प्रशासकीय अधिकृत विनोद भट्टराई, प्रवक्ता ल्हाक्पा छिरी शेर्पा, वडा नं १ का वडाध्यक्ष ङिमा दोर्जी शेर्पा र अनेरास्ववियुका नेता भुपेन्द्र कट्टेल लगायतको उपस्थिति रहेको थियो ।
छलफलमा खुम्बुपासाङ ल्हामु गाउँपालिकाका कार्यबाहक अध्यक्ष शेर्पाले पर्यटकीय दृष्टिले देशकै शानका रुपमा रहेको खुम्बु क्षेत्रको महंगो ढुवानीलाई मध्यनजर गरि केन्द्र सरकारबाट त्यस क्षेत्रको सडक निर्माण र स्तरोन्नतिका लागि थप बजेट बिनियोजन गर्न मन्त्री नेम्बाङको ध्यानाकर्षण गराउनु भएको थियो। मन्त्री नेम्बाङले निर्माणाधीन सडक खण्ड र आयोजनाहरुको कामलाई उच्च प्राथमिकतामा राखेर अगाडि बढाउने प्रतिबद्धता जनाएको खुम्बु पासाङ ल्हामु गाउँपालिकाका प्रबक्ता ल्हाक्पाछिरी शेर्पाले जानकारी दिए।

