सगरमाथा राष्ट्रिय निकुञ्जले मनायो ४४ औं स्थापना दिवस



 

-खगिन्द्रराज बास्तोला
फाइल फोटो सोलुखुम्बु, ६ असार ।सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालय नाम्चेले ४४ औं वार्षिक स्थापना दिवस विविध कार्यक्रमको आयोजना गरि मनाएको छ ।

खुम्बु पासाङल्हामु गाउँपालिका ३ को घाटमा कार्यक्रमको आयोजना गरी निकुञ्जले आफ्नो स्थापनाको ४४ औं वार्षिकोत्सव मनाएको हो । स्थापना दिवसको अवसरमा ४४ ओटा बिरुवा रोप्ने, चौरीखर्क मध्यवर्ती क्षेत्र उपभोक्ता समितिको कार्यालय उद्घाटन, खुम्बु क्षेत्रमा रहेर विभिन्न फरकफरक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउने १७ जनालाई नगदसहित प्रसंशापत्र प्रदान गर्नुका साथै वन्यजन्तुका कारण क्षति पुगेका स्थानीयलाइ क्षतिपूर्ति रकम प्रदान गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले जानकारी दिनुभयो ।

सगरमाथा मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष सोनामग्याल्जेन शेर्पाको विशेष आतिथ्य र खुम्बु पासाङ्ल्हामु गाउँपालिका कार्यवाहक अध्यक्ष टासील्हामु शेर्पाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बक्ताहरुले बिश्व सम्पदा सूचीमा सूचीकृत पर्यटकीय क्षेत्र सगरमाथामा राष्ट्रिय निकुञ्जको संरक्षण र सम्बर्द्धनमा सबैले हातेमालो गर्दै अगाडि बढ्नुपर्ने साझा धारणा व्यक्त गर्नुभएको थियो।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायको सभापतित्वमा भएको कार्यक्रममा फारक शेर्पा किदुकका महासचिव दावग्याल्जेन शेर्पा, चौरीखर्क मध्यवर्ती क्षेत्रका अध्यक्ष लाक्पा ग्याल्जेन शेर्पा, कोश आङनुरु शेर्पा, खुम्बियुला मध्यवर्ती क्षेत्र उपभोक्ता समितिका अध्यक्ष छिमी छिरिङ शेर्पा, खुम्बु पासाङल्हामु गाउँपालिका वडा नं ३ का अध्यक्ष मिङ्माछिरी शेर्पा, प्रवक्ता लाक्पाछिरी शेर्पा,चौंरीखर्क मध्यवर्ती क्षेत्र उपभोक्ता समूहका अध्यक्ष लाक्पाग्याल्जेन शेर्पा र कार्यालयको तर्फबाट सहायक संरक्षण अधिकृत केदार कटेलले आ आफ्नो धारणा राख्नु भएको थियो ।

खुम्बु पासाङल्हामु गाउँपालिका, सगरमाथा राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति, मध्यवर्ती क्षेत्र उपभोक्ता समिति, सामुदायिक वन उपभोक्ता समूह, क्लब, स्थानीय सरकारी तथा गैर सरकारी संघ संस्था लगायतकको सहभागिता कार्यक्रमको आयोजना गरिएको हो।विश्व सम्पदा सूचीमा सूचीकृत सगरमाथा राष्ट्रिय निकुञ्ज २०३३ साउन ४ गते स्थापना भएको थियो।त्यस यता कार्यालयले हरेक बर्ष आफ्नो स्थापना दिवस मनाउंदै आएको छ।

कार्यक्रमम वन्यजन्तुबाट घरपालुवा जन्तु क्षति भएका नाम्चे निवासी लाक्पाडोमा शेर्पालाई नगद ३० हजार क्षति रकम प्रदान गरिनुका साथै पेमाछोलिङ आधारभूत विद्यालयका कलाकारबाट नृत्य प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्