सोमबारदेखि सार्बजनिक यातायात चलाउन ब्यबसायी तयार
काठमाडौं, ४ साउन। सोमबारबाट सार्वजनिक यातायात सञ्चालनमा आउने भएका छन् । आइतबारय यातायात व्यवस्था विभागमा भएको छलफलपछि व्यवसायीले यातायात सञ्चालन गर्न तयार भएका हुन् ।

सरकारले गत असार २६ गते ५० प्रतिशत बढी भाडा लिएर सार्वजनिक सवारी सञ्चालन गर्न सकिने निर्णय गरेको थियो । तर, व्यवसायीले विभिन्न माग राख्दै तत्काल यातायात सञ्चालन गर्न नसकिने बताउँदै आएका थिए ।
व्यवसायी र यातायात मजदुरहरुका प्रतिनिधिसँगको छलफलपछि उनीहरु यातायात सञ्चालन गर्न तयार भएको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए ।
कोभिड संक्रमणको डर अझै रहेकाले स्वास्थ्य सुरक्षाका सम्पूर्ण उपाय कडाइका साथ पालना गर्न पनि हमालले आग्रह गरेका छन् । सार्वजनिक यातायात केन्द्रीय महासंघका वरिष्ठ उपाध्यक्ष किरणकुमार रिजालले व्यवसायीले उठाउँदै आएका माग मौद्रिक नीतिमार्फत समेटिएकाले यातायात सञ्चालन गर्ने निर्णय भएको बताएका छन् ।

