नेकपा स्थायी समिति बैठक फेरि स्थगित
काठमाडौं ४ श्रावण । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक साउन ६ गतेसम्म स्थगित भएको छ । आइतबार दिउँसो ३ बजेका लागि तय भएको स्थायी कमिटी बैठक साउन ६ गते बिहान ११ बजेसम्मका लागि स्थगित भएको पार्टी कार्यालयले जनाएको छ । नेकपा पार्टी कार्यालयका सचिव ईश्वरी रिजाल र श्रीराम ढकालले विज्ञप्ति जारी गरेर बैठक स्थगित भएको जानकारी गराएका हुन् ।

यसअघि शनिबार बेलुका बसेको नेकपा सचिवालय बैठकले भने स्थायी कमिटीको बैठक अघि बढाउने निष्कर्ष निकालेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी गराएका थिए । स्रोतका अनुसार सचिवालय बैठकले अर्ली महाधिवेशनको प्रस्ताव तयार पार्नुपर्ने भएकाले स्थायी कमिटी बैठक दुईदिनपछि धकेलिएको हो ।
नेकपाका अध्यक्षद्वयले विवाद साम्य पार्न कहिले स्थायी समिति बैठक बोलाउने, कहिले सचिवालय बैठक बोलाउने तर निष्कर्ष केहि ननिकाल्ने भएपछि नेता कार्यकर्ता निराश बनेका छन् भने राजनीतिक विष्लेशकहरुले नेकपाभित्र खास केहि पाक्दै गरेको विष्लेशन गर्न थालेका छन् ।

