नेकपाको सचिवालय बैठक सकियो, ओली र प्रचण्ड एकैसाथ शितल निवासमा !
काठमाडौं ३ श्रावण । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय सकिएको छ । बैठकले पार्टीभित्र देखिएको विवाद समाधानका लागि थप गृहकार्य गर्ने निर्णय गरेको हो । बैठकमा पार्टीभित्र उठेका सबै बिषयमा छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

श्रेष्ठका अनुसार सबै नेताहरु पार्टीभित्रको विवाद कसरी सहमतिमा समाधान गर्नुपर्छ भन्नेमै केन्द्रीत रहेको बताएका छन । जनताले दिएको जनदेशको रक्षाका लागि भएपनि पार्टी एकता कायम बलियो बनाउनुपर्नेमा सबै नेताहरुले जोड दिए प्रवक्ता श्रेष्ठले बताए । प्रधानमन्त्रीको राजीनामा औपचारिकक प्रस्ताव नभएकाले स्थायी कमिटी बैठकमै छलफल हुने उनले बताए।
असार १० गतेबाट सुरु भएको स्थायी कमिटीको बैठक भोलिबाट निरन्तर चल्ने समेत उनले बताए। पार्टीभित्र देखिएको संकट समाधान गर्न सबैले आआफ्नो तहबाट गृहकार्य जारी राख्ने सहमति भएको श्रेष्ठको भनाइ छ । आजको बैठकमा केन्द्रीय कमिटीको बैठक राख्ने बिषयमा पनि छलफल भए पनि निर्णय नभएको जानकारी उनले दिएका छन्।
सचिवालय बैठक सकिएलगत्तै दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन्। यसअघि विवाद चर्किँदा एक्ला एक्लै शीतल निवास पुगेर भलाकुसारी गर्ने दुई नेता एकसाथ शीतल निवास प्रवेशलाई अर्थपूर्णरुपमा लिइएको छ।

