पार्टी सभापति देउवाविरुद्ध नेताहरूको उजुरी, महाधिवेशन प्रभावित गर्न खोजेको आरोप



काठमाडौं, १ साउन । आसन्न पार्टी महाधिवेशन प्रभावित गर्ने काममा पार्टी सभापति शेरबहादुर देउवा लागेको भन्दै उनीबिरुद्द पार्टीको निर्वाचन समितिमा उजुरी परेको छ।

पार्टी बिभागहरुमा बांकी रहेको नियुक्ति गर्ने प्रक्रिया अगाडि बढाएपछि राधेश्याम अधिकारी नेतृत्वको निर्बाचन समितिमा सभापति देउवाविरुद्ध वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला र कोषाध्यक्ष सीतादेबी यादवले उजुरी दिएका हुन। सभापति देउवाले महाधिवेशनको ६ महिनाभित्र मनोनयन नियुक्ति गर्नुपर्ने पदमा महाधिवेशनको तयारी सुरु भएसँगै गरेको आरोप उजुरीमा लगाइएको छ।कांग्रेसको १४औं महाधिवेशन आउँदो फागुन ७ देखि १० गतेसम्म काठमाडौँमा हुने गरी तय भएको छ।

उजुरी पत्रमा लेखिएको छ, ‘निर्वाचनको सर्वमान्य मान्यता एवं आचारसंहिताको विपरीत हुन गइरहेको यो कार्य आसन्न महाधिवेशनलाई अनुचित प्रभाव पार्ने दुराशय समेतबाट प्रेरित रहेको हुँदा उक्त कार्य तत्काल रोक्न र बदर गर्न गराउन आदरणीय पार्टी सभापति र निर्वाचन समितिको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौं।’

पार्टीका विभागलाई २८ बाट बढाएर ४३ पुर्‍याए पनि अहिलेसम्म केहीमा मनोनयन हुन सकेको छैन।

प्रतिक्रिया दिनुहोस्