ओलिले नेपाल-भारत सम्बन्ध खल्बल्याएको डा. शेखरको आरोप
काठमाडौं, ३० असार ।प्रमख प्रतिपक्षी दल नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा। शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्याका बारेमा अप्रमाणित अभिव्यक्ति दिएर दुई देशको कुटनीति बिगार्ने काम गरेको बताएका छन् ।

सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै उनले यस्तो बताएका हुन् ।डा कोइरालाले प्रधानमन्त्रीले अयोध्याको बारेमा अप्रमाणित, विवादास्पद र गैरजिम्मेवार अभिव्यक्ति दिएर दुई देशको कुटनीति खल्बल्याउने मात्रै नभई नेपाली र भारतीय जनताबीचको आपसी धार्मिक र सांस्कृतिक सम्बन्ध बिगार्ने काम गरेको बताउंदै भनेका छन् , जसरी गौतम बुद्ध र लुम्बिनीका बारेमा हामी कसैसँग सम्झौता गर्न सक्दैनौं त्यसैगरी भारतीयहरु मर्यादा पुरुष भगवान श्रीराम र अयोध्याका बिषयमा केही कुरा सुन्न चाहँदैनन् । अयोध्या भारत लगायत सम्पूर्ण हिन्दुहरुको आस्थाको केन्द्र हो। धर्म र आस्थालाई राजनीति तथा कुटनीतिको हतियार बनाएर सत्ताको मलजल गर्नु कदापि सह्य हुदैन ।
सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले ‘नक्कली अयोध्या’ खडा गरेर सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको बताएका थिए । नेपाल सांस्कृतिक हिसाबले थिचिएको उल्लेख गर्दै ओलीले तथ्यहरुमाथि भारतले अतिक्रमण गरेको बताएपछि अहिले उनको अभिव्यक्तिको सबैतिरबाट आलोचना भइरहेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित आदिकवि भानुभक्तको २०७ औं जन्म जयन्ती कार्यक्रममा ओलीले भगवान रामको राज्य अयोध्या नेपालको वीरगञ्ज पश्चिममा पर्ने भए पनि भारतले विवादीत अयोध्या खडा गरेको अभिव्यक्ति दिएका थिए ।

