श्रद्धाञ्जलीका लागि नेम्वाङको पार्थिव शरीर पार्टी कार्यालयमा राखिने
काठमाडौं।हृदयघातका कारण गए राति निधन भएका नेकपा एमालेका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय च्यासलमा राखिने भएको छ।

त्रिबिबि शिक्षण अस्पतालबाट नेम्बाङको पार्थिव शरीर पार्टी पुर्याएर ७ बजेपछि श्रद्धाञ्जलीका लागि राखिने जनाईएको छ।एमाले अध्यक्ष केपी ओली,प्रधानमन्त्री पुष्पकमल दाहाल लगायत नेताहरुले भने अस्पताल पुगेर नै श्रद्धाञ्जली दिएका थिए।
बालुवाटारस्थित आफ्नो निजी निवासमा गएराति उनलाई हृदयघात भएपछि उपचारका लागि महाराजस्थित शिक्षण अस्पताल पुर्याइएकामा त्यही नेम्वाङको निधन भएको थियो ।
राष्ट्रपति रामचन्द्र पौडेलले संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको अप्रत्यासित निधनले मर्माहत भएको बताएका छन्।
उनले नेम्वाङप्रति श्रद्धाञ्जली र परिवारप्रति गहिरो समवेदना प्रकट गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।
सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले संविधानसभा अध्यक्ष सुवास नेम्वाङको अप्रत्यासित निधनले आफू मर्माहत र स्तब्ध भएको बताउनुभएकोछ।दुःखको यस घडिमा नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै नेम्वाङ परिवार,गणतन्त्र पक्षधर तथा उहाँको पार्टीप्रति गहिरो समवेदना प्रकट गर्नुभएको छ।
यसैगरी,प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधनबाट आफू मर्माहत भएको बताएका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले नेम्वाङको असामयिक निधनले मर्माहत भएको उल्लेख गर्दै भावपूर्ण श्रद्धान्जलीसहित शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गरेका छन् ।
उनले लेखेका छन्– ‘संविधानसभाका अध्यक्ष तथा पूर्वसभामुख कमरेड सुवास नेम्वाङको असामयिक निधनको खबरले मर्माहत भएको छु । दिवंगत कमरेड नेम्वाङप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु ।’
यस्तै,नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधनले स्तब्ध भएको बताएका छन् । मंगलबार बिहान सामाजिक सञ्जालमार्फत सभापति देउवाले नेम्वाङको निधनले स्तब्ध भएको बताएका हुन् ।
‘नेकपा एमालेका उपाध्यक्ष एवं संविधासभा अध्यक्ष सुवास नेम्वाङजीको निधनले स्तब्ध भएको छ,’ उनले लेखेका छन्, ‘उहाँको आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।'(फोटो सामाजिक सञ्जाल)

