थुलुङ दुधकोशी सामुदायिक अस्पतालका लागि अत्यावश्यक औजार र उपकरणहरू खरिद गरिने
सोलुखुम्बु।शल्यक्रिया सेवा सुरु भएपछि पछिल्लो समय सेवा लिने बिरामीहरुको चाप बढ्न थालेपछि थुलुङदुधकोशी गाउँपालिकाको केन्द्र मुक्लीमा रहेको थुलुङ दुधकोशी अस्पतालका लागि अत्यावश्यक औजार र उपकरणहरू खरिद गरिने भएको छ।
गाउँपालिका अध्यक्ष तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष असिम राईको अध्यक्षतामा बुधबार बसेको बैठकले अस्पताललाई आवश्यक पर्ने औषधी तथा उपकरण खरिद गर्न उद्वव ढुङ्गानाको संयोकत्वमा तीन सदस्य खरिद समिति गठन गर्ने निर्णय गरेको गाउँपालिका प्रबक्ता भोजराज कार्कीले जानकारी दिनुभयो।
बैठकले अस्पताल प्रमुखको जिम्मेवारी डा.अजय चौधरीलाई दिने निर्णय समेत गरेको छ। बैठकले थुलुङ दुधकोशी गाउँ कार्यपालिकाले पारित गरेको अस्पताल फार्मेसी कार्यविधि, २०८१ अनुसार संचालन गर्ने निर्णय गरेको पनि वहाँले बताउनुभयो।
यस्तै,बैठकले गाउँपालिका भित्रका विपन्न,असहाय नागरिकहरूको स्वास्थ्यउपचार सहजीकरणका लागि आर्थिक सहयोग गर्ने प्रयोजनार्थ गाउँपालिका उपाध्यक्ष सबिता राईको संयोजकत्वमा ५ सदस्य आर्थिक सहयोग वितरण अध्ययन उपसमिति समेत गठन गर्ने निर्णय पनि गरेको छ ।