थुलुङ दुधकोशीमा शेर्पा तथा सुनुवार जातिको सांस्कृतिक महोत्सव तथा प्रशिक्षण सम्पन्न
सोलुखुम्बु।जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकामा शेर्पा तथा सुनुवार जातिको सांस्कृतिक महोत्सव तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको सहयोगमा महिला उद्यमि संघ सोलुखुम्बुको आयोजनामा उक्त कार्यक्रम बिहिवार सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष असिम राईले
सांस्कृतिक अतिक्रमण भइरहेको भन्दै भाषा,संस्कार र अस्तित्व जोगाउन संसारमा रहेका आदिवासी जनजातीहरु अघि बढिरहेको बताउनुभयो । आफ्नो पहिचान जोगाउन सिमान्तकृत समुदाय सक्रिय हुनुपर्ने भन्दै अध्यक्ष राईले राज्यले उनिहरुको लागि विशेष कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो ।
यस्तै कार्यक्रममा बोल्दै गाउँपालिका प्रवक्ता भोजराज कार्कीले सबै समुदायको आ-आफ्नै अस्तित्व हुने भन्दै त्यसको संरक्षणका लागि थुलुङ दुधकोशी सरकार गम्भीर रहेको बताउनुभयो ।
सहभागीको तर्फबाट कार्यक्रममा बोल्दै फुरी शेर्पाले धर्म,संस्कार र संस्कृतिका बारेमा जानकारी प्राप्त भएकोमा खुसी व्यक्त गर्नुभयो । शेर्पा जातिको उत्पत्ति लगायत जन्म देखि मृत्यु संस्कार सम्मको विषयमा आफुहरुले जानकारी प्राप्त गरेको बताउंदै उहाँले स्थानीय सरकारले सञ्चालन गरेको कार्यक्रम अति प्रभावकारी रहेको टिप्पणी गर्नुभयो।
कार्यक्रममा शेर्पा र सुनुवार जातिले आ-आफ्नो मौलिक संस्कृति प्रस्तुत गरेका थिए । गाउँपालिकाको नेलेमा सुनुवार जातिको बसोबास रहेको छ भने वडा नम्बर १ नेले, वडा नम्बर ४ र ५ जुबु र वडा नम्बर ९ मा शेर्पा समुदायको बसोबास रहेको छ ।
पाँच पटक भन्दा बढी सगरमाथा आरोहण शेर्पा समुदाय र स्वास्थ्य क्षेत्रमा लामो समय काम गर्ने सुनुवार सुमुदायलाई सम्मान समेत गरिएको छ ।