महाकुलुङमा भालु आतंक : अध्यक्ष राई भन्छन- ‘मान्छे जोगाउने कि भालु सरकारले सोच्ने बेला आयो’



सोलुखुम्बु।जंगली भालुको आक्रमण निरन्तर बढ्दै गएपछि आतंकित बनेका महाकुलुङबासीले तत्काल राहतको महसुस गर्न नपाउने भएका छन्।महाकुलुङ गाउँपालिकाको पटकपटकको आग्रहपछि राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु बिभागको प्रयास पनि असफल भएपछि महाकुलुङका स्थानीयले त्रासैत्रासका बीच दैनिकी सञ्चालन गर्नुपर्ने भएको हो।

पछिल्लो दुई बर्षमा महाकुलुङमा जंगली भालुको आक्रमणबाट तीन जनाले ज्यान गुमाईसकेका छन् भने एकजना घाइतेको उपचार भइ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।पछिल्लो पटक गाउँपालिकाको वडा नं-२ पेल्माङका ५६ वर्षीय जसधन राईको भालुको आक्रमणका कारण गत सातामात्रै मृत्युु भएको थियो।जसका कारण स्थानीयलाई आफ्नै खेतबारीमा जान पनि समस्या हुन थालेको स्थानीय बताउँछन्।

मकालु बरुण राष्ट्रिय निकुञ्जसंग जोडिएका वडा नं १ को खेरौंले,२ पेल्माङको पात्ताले,३ को छेस्कामस्थित बोक्सार मेमर्कु र ५ को लिप्सिङ,नुर्कुम र लिप्सिदुङ क्षेत्रमा जंगली भालुको बिगबिगी रहेको स्थानीयको भनाई छ।साविकका बुङ,छेस्काम र गुंदेल गरि तीनवटा गाबिस जोडेर बनाईएको महाकुलुङ गाउँपालिकामा झण्डै २० वटा जंगली भालु हुन सक्ने आंकलन गरिएको छ।बन्यजन्तु संरक्षण ऐनको ब्यबस्थाले गर्दा पनि स्थानीयले प्रताडित बनिरहनु परेको कतिपयको भनाई छ।

जंगली जनावर मार्न नपाईने ब्यबस्थाकै कारण पछिल्लो पटक बेहोस (ढाट) बनाएर खोरमा थुन्ने बिधि प्रयोग गरेर जंगली भालु नियन्त्रणमा लिन मेसिनसहित तीन जना प्राविधिक राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु बिभागले महाकुलुङतर्फ पठाएको थियो ।
झण्डै ६ सय केजी तौलको फलामे खोर दुधकोशी पारी नपुग्दै फर्काउन बाध्य हुनुपरेको महाकुलुङ गाउँपालिका अध्यक्ष सूर्य कुलुङले बताए। एकातिर दिप्लीघाटमा बेलिबृज नभएका कारण तुईनबाट ह्यावी वेटको सो फलामे खोर तार्न नसकिएको र पारी तार्दा पनि सडक क्षेत्रभन्दा अन्यत्र लैजान सम्भव नभएका कारण ढाट गरेर थुन्ने प्रयास पनि त्यत्तिकै खेर गएको उनको भनाई छ।

‘जंगली भालुको नियन्त्रण बिना महाकुलुङमा स्थानीय आफ्नैं खेतबारीमा जान सक्ने अवस्था छैन। नियन्त्रणको प्रयास पनि असफल हुँदै गईरहेको छ, यो अवस्थामा मान्छे जोगाउने कि भालु ? सरकारले गम्भीर भएर सोच्नुपर्ने बेला आएको छ’-अध्यक्ष कुलुङ भन्छन्।

प्रतिक्रिया दिनुहोस्