आफैंले घोषणा गरेको समयसीमामा सरकार बिस्तार गर्न प्रधानमन्त्री प्रचण्ड असफल



काठमाडौं।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोस्रो पटक विश्वासको मत लिएपछि उत्साहित हुँदै भनेका थिए,अब सरकार आरामसंग चल्छ।चैत १० गतेसम्म सरकार बिस्तार गरिसक्ने उनको भनाई थियो। चैत ६ गते बिश्वासको मत लिएका उनले १० गतेसम्म सरकार बिस्तार त के सत्तारुढ गठबन्धनभित्र भागबिलो मिलाउने सामान्य छेउटुप्पो समेत अहिलेसम्म भेटेका छैनन्। यसकारण आरामसंग चल्ने उनले दावी गरेको सरकार विस्तारका लागि अझै केहि समय लाग्ने र सरकारको डेलिभरिमा प्रत्यक्ष असर पर्ने देखिएको छ ।

बिश्वासको मत लिएको भोलिपल्टैबाट सरकार बिस्तारका बिषयमा सहयात्री दलहरूसंग प्रचण्डले छलफल सुरु गरे पनि आजका मितिसम्म सहमति त के गठबन्धन दलहरु सहमतिको नजिक पनि पुग्न नसकेको नेताहरुको भनाई छ ।

सत्ता गठबन्धनमा आवद्ध दलहरु बढी भन्दा बढी मन्त्रालय आफ्नो पक्षमा पार्ने रणनीतिमा छन् । संसदको सवैभन्दा ठुलो दल नेपाली कांग्रेसले गृह, अर्थसहितका १० मन्त्रालयमा आफ्नो दावी गरिरहेको छ । यता, माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले आफुले कुनैपनि संवैधानिक पद नराखेकाले गृह, शहरी विकास लगायतका ३ मन्त्रालय पाउनुपर्ने हठ कसेको छ । रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीले पनि उपप्रधानसहित शहरी विकास मन्त्रालयमा दावि गरिरहेको छ ।

त्यस्तै, जनमत पार्टी, जसपा, लोसपा, आम जनता पार्टी लगायतका साना दलहरुको पनि महत्वपूर्ण मन्त्रालयमा दावि गरिरहेका छन् । जसका कारण शक्ति बाँडफाँटको बिषय दिन प्रतिदिन पेचिलो बनिरहेको छ ।

चैत्र १० गत प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकार गठन भएकोे ठीक ३ महिना पुगेको छ । यो ९० दिनको समयमा सरकार जनताका मुद्दा भन्दा पनि शक्ति बाँडफाँटमै रुमलिएको छ ।

विगत १ महिनादेखि गृह, अर्थ, शिक्षा, स्वास्थ्य, परराष्ट्र लगायतका १६ वटा मन्त्रालयको भारी प्रधानमन्त्री प्रचण्ड आफैले बोकिरहेका छन् ।

गठबन्धन दलहरु भित्रको आन्तरिक किचलोका कारण तत्काल मन्त्रिपरिषद्ले पूर्णता पाउने सम्भावना क्षीण देखिएको छ ।

त्यसमा पनि गठबन्धन दलहरुबीचको असमझदारीकै कारण प्रचण्ड नेतृत्वको सरकार संकटमा पर्ने त होइन ? भन्ने अहम् प्रश्न उब्जिएको छ ।

प्रतिक्रिया दिनुहोस्