जहाँ बिबाद,त्यहीँ पुगेर न्याय निरुपण गर्दै नेचासल्यान गाउँपालिका उपाध्यक्ष बिना राई



सोलुखम्बु । नेचासल्यान गाउँपालिका वडा नम्बर-२ का ८० बर्षीय तिलकध्वज राईले छिमेकीले जग्गाको साँध मिचेको उजूरी गत भाद्र २० गते न्यायीक समितिमा दर्ता गराए ।

वडा नम्बर १ को टुहुरेमा बस्दै आएका बृद्ध राईले ‘छिमेकीले बारीमा लगाएको अन्नबालिमा पशु चौपाया छोड्दिने, रुख विरुवा काटेर लगिदिने गरेकोले निजहरुलाई कार्बाही गरि आफुलाई न्याय दिनु हुन’भनि उजुरी दर्ता गरे । उनले आधा दर्जन छिमेकीलाई प्रतिवादी बनाई उजुरी दर्ता गरेका थिए ।

विगतको अभ्यासमा यस्ता उजुरीमा बादी-प्रतिवादी दुवैलाई पालिका झिकाई न्यायीक समितिमा दर्जनौं पटक कचहरी गराईन्थ्यो । यो पटक त्यस्तो भएन।पालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक विना राई दुई वटै वडाका वडा अध्यक्ष लिएर उजुरकर्ताको घरमै पुगिन । अनि त्यहाँ दुवै पक्ष डाकेर वडा नम्बर १ को विकट गाउँ टुहुरेमै छलफल गराईन् । अनि दिनभरिको छलफलबाट मुद्दाको किनारा लगाईन् । छिमेकीहरुले आंशिक गल्ति स्वीकार गरे र आईन्दा उनको सांध सिमानाभित्र हानी नोक्सानी नगर्ने प्रतिबद्धता ब्यक्त गरे । दुवै पक्षबीच दोहोरो कागज गरेर टोलमै पहिलो पटक मुद्दाको किनारा लाग्यो । ८० बर्षीय तिलकध्वज राईले भने, ‘घरमै न्यायाधीश आएर फैसला गरिदिनुभयो, हामी गरिब र बृद्धहरुले पनि न्याय पाउँने रहेछौँ।’

नेचासल्यान -३ का खिलनाथ भट्टराईले पनि ४ महिना अघि सडक उपभोक्ता समितिले बाटो खन्दाआफ्नो जग्गा मिचेको भन्दै मिचेको जग्गा उकाशी दिन माग दावीसहित न्यायीक समितिमा उजुरी दिए । उनले उपभोक्ता समितिका अध्यक्ष राजन भट्टराईलाई प्रतिबादी बनाई न्यायको अपिल गरेका थिए । यो मुद्दामा पनि पालिकाको न्यायीक ईजलासमा दुवै पक्षलाई झिकाएर छलफल गराउने काम भएन । पालिका उपाध्यक्ष राई न्यायिक समितिको टोली नै लिएर सम्बन्धित ठाउँमा पुगिन । त्यही टोलमै दुई पक्षलाई झिकाएर छलफल चलाईन । अन्त्यमा बाटो खन्दा निवेदकको जग्गा मिचिएको ठहर गर्दै मन्जुरी बेगर उनको जग्गामा बाटो खन्न नपाउने र बाटो खनिएको जग्गा उकासेर जग्गाधनीले नै उपभोग गर्ने गरि फैसला गरियो ।

नेचासल्यान गापा वडा नम्बर ४ की डम्बरकुमारी बाँस्तोलाले आफ्नो श्रीमानले सौता ल्याएको र आफुलाई ललाई फकाई कमाईको आधा सम्पत्ति र पेन्सन समेत आधा दिन्छु भनेर गरेको सहमति कार्यान्वयन नभएको भन्दै श्रीमानले गरेको वाचाअनुसार न्याय पाउनु पर्ने माग सहित कात्तिक २९ गते न्यायिक समितिमा उजुरी दिईन् । उनकै नाता पर्ने महिलालाई सौता भित्र्याए पछि उनलाई छुट्याएर मात्रै राखिएन, घर चलाउन समेत निकै हम्मे पर्‍यो । उनको उजुरीको आधारमा साक्षी प्रमाण संकलनको काम उनकै टोलमा गएर गरियो । अन्त्यमा उनका श्रीमान शिवप्रसाद बाँस्तोलालाई कमाईको आधा रकम दिलाउने गरि फैसला गरि दुवै पक्ष सहमतिमा आए । समस्या समाधान भयो ।

यो आर्थिक बर्षको अहिलेसम्मको अवधिमा मात्रै न्यायिक समितिले ५ वटा मुद्दा टोल टोलमै पुगेर किनारा लगाएको छ । ‘मैले न्यायीक समितिको ईजलासमै बोलाउने र जनतालाई दु:ख दिने परिपाटीको अन्त्य होस भनेर टोल टोलमै पुगेर न्यायिक निरुपण गर्ने अभियान थालेकी छु’ पालिका उपाध्यक्ष राईले भनिन्, ‘मैले चुनावमा भोट माग्दै गर्दा सेवा प्रवाहमा सहजता र डेलिभरी गभरमेण्टको मुद्दा उठाएको थिएँ, आज त्यही बाचा पुरा गर्न मेरो जिम्मेवारीमा रहेका कामहरु जनताको घरघरमै पुगेर गरिरहेकी छु ।’ उनी थप्छिन, ‘एउटै मुद्दामा पक्ष र विपक्ष गरि २० जनाभन्दा बढी ब्यक्ति पालिका झिकाउनु पर्छ, आखिर दु:ख पाउने त हाम्रै जनताले हो नि, उनीहरूले दु:ख पाउनु भन्दा म आफैं वहाँहरुको घरमा जान्छु ।’ १ दशक लामो पत्रकारिता र दुई विषयमा स्नातकोत्तर गरेर राजनीतिमा होमिएकी उपाध्यक्ष राईले जनप्रतिनिधिहरुको कार्यशैली र सोचमा परिवर्तन आउनु पर्ने धारणा राख्छिन् । अनि भन्छिन्,- ‘हामी युवाहरु जनताको सेवकको रुपमा चुनिएका हौं’, शासकको रुपमा घुम्ने कुर्सीमा मात्रै बस्ने होईन, जनताको घरघरमा गएर सेवा दिने हो ।’

नेचा सल्यान गाउंँपालिकामा चालू आव.को ५ महिनामा २० वटा उजुरी न्यायिक समितिमा परेका छन् । त्यस मध्ये १२ वटा उजुरीको न्याय निरुपण भईसेकेको र बाँकी प्रकृयामा रहेको पालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्