उपत्यकामा एकैदिन भेटिए ३२ संक्रमित, मृत्यु हुनेको संख्या ३१ पुग्यो
काठमाडौँ,१८ असार ।काठमाडौँ उपत्यकामा थप ३२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज यहाँ आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँमा २८, भक्तपुरमा दुई र ललितपुरमा दुई गरी ३२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
यो संगै नेपालमा संक्रमितको सङ्ख्या १४ हजार ५१९ पुगेको छ। प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ३६४ पुरुष र १०९ महिला गरी कुल ४७३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो ।
तीमध्ये एक हजार ८८३ महिला र १२ हजार ६३६ पुरुष छन् । प्रवक्ता डा गौतमका अनुसार अहिलेसम्म पाँच हजार ३२० जना उपचारपछि निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा ६६४ जना उपचारपछि घर फर्किएका हुन् । त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट चार हजार ५३७ जनाको परीक्षण भएको छ ।
शिशुको मृत्युसँगै मृतक ३१ पुगे ( कोरोना भाइरस सङ्क्रमणबाट आज एक शिशुको मृत्यु भएको छ । म्याग्दी जिल्ला धवलागिरि नगरपालिका–४ स्थायी बसोबास भएको ४९ दिनको ती शिशुको बुधबार साँझ त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो । लामो समयदेखि स्वास्थ्यमा समस्या भएपछि ती शिशुलाई यही असार ९ गते ती अस्पतालमा भर्ना गरिएको थियो । उनीसँगै कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३१ पुगेको छ ।