धादिङमा बैकल्पिक सिकाइ सहजीकरणको तयारीको लागि प्रधानाध्यापक तथा विव्यस अध्यक्षहरुवीच छलफल कार्यक्रम सम्पन्न



धादिङ, असार ३
आज बिहान ८:०० बजेदेखि १०:३० बजेसम्म धादिङ जिल्ला स्थित पृथ्वी राजमार्गमा पर्ने सातवटा माध्यमिक विद्यालयहरुद्वारा गरिने वैकल्पिक सिकाई सहजिकरणको तयारीको सम्बन्धमा वि व्य स का अध्यक्ष र प्रधानाध्यापकहरुको बैठक होटेल ह्यामलेट गल्छी मासटारमा आयोजना गरियो। उक्त बैठकको प्रमुख एजेण्डाहरु आफ्नो विद्यालय सेवा क्षेत्रको अवस्था र विद्यालयले गरेको तयारी, साझा सम्भावनाहरु र तत्काल सुरु गर्ने कामहरुको बारेमा व्यवस्थित छलफल गरी केहि निर्णयहरु गरेकोछ। अत्यन्त सौहार्द्रपूर्ण र विषयवस्तुमा गहिरिएर भएको उक्त छलफलले केहि राम्रा सम्भावनाहरु उघारेकोछ।
क) सहभागी विद्यालयहरु
————————
१. चन्द्रोदय मा वि विशालटार, बेनिघाट रोराङ
२. आदर्श मा वि गजुरी
३. महाकाली मा वि, सिध्दलेक – ७
४. सत्यवती मा वि सिध्दलेक – ७
५. जनकल्याण मा वि गल्छी मासटार
६. वागेश्वरी मा वि, बैरेनी गल्छी
७. जनजागृति मा वि महादेवबेँशी थाक्रे
ख) अवस्थाहरु
—————–
१. एउटा विद्यालयले सेवाक्षे्त्रमा आमा अभिभावक समूहहरु बनाएको रहेछ, सोहि समूहको सहयोग लिएर पा पु वितरण, नाम दर्ता र अव सहजिकरणको लागि तयारी गरेको पाइयो। अरु पाँचवटाको समूदायमा त्यस्तो छैन, स्थानीय निकायसङ्ग सामान्य सम्बन्ध रहेको तर एउटा विद्यालयको बालबालिकाको सिकाईमा पहूँच र गुणस्तरको लागि साझेदारी गर्ने सकृय स्थानीय सामाजिक संस्था रहेको पाइयो।
२. एउटा बाहेक सबै विद्यालयहरुमा सिकाईको लागि सूचना प्रविधिको अनलाइनलाई विकल्पको रुपमा प्रयोग गर्न सकिने विद्यार्थी संख्या २ प्रतिशत भन्दा कम रहेको तर एउटा विद्यालयमा ८ प्रतिशत वालवालिकाको घरमा नै वाइफाई रहेको पाइयो।
३. धेरै विद्यालयहरुमा शिक्षकहरु वैकल्पिक सहजिकरणको बारेमा जिज्ञासु र उत्साही भएको पाइयो भने पाठ्यक्रम कार्यान्वयन कि जीवनोपयोगी सिपहरु, औपचारिक परम्परागत कक्षाको विकल्प कि सहयोगी कि अरु केहि, मूल्याङ्कन, यसको भविष्यमा हुने विद्यालय शिक्षासङ्ग कनेक्सन के हुने भन्ने जस्ता धेरै आधारभूत सवालहरुमा अन्यौल रहेको पाइयो। यो बारेमा प्रधानाध्यापकहरुको पनि दृष्टिकोणमा एकरुपता कायम हुन सकेन। एकजना प्र अ र एकजना वि व्य स अध्यक्षले त एक वर्ष विद्यालय नखोल्ने घोषणा गरेर पूर्ण रुपमा समुदायमा आधारित रहेर बालबालिकाको रुची अनुसारको सिकाई “Learning by learners’ choice” गरेर जाऔं भन्नुभयो। वहाँहरुको परम्परागत ‘शिक्षाको अनुत्पादकत्व’ सहितको दोषहरु तोड्ने ठूलो अवसरको रुपमा यसलाई लिनुपर्दछ भन्नुभयो।
४. अहिले मागमा आधारित वालवालिकाको हितको क्षे्त्रमा काम मात्र गरेर जाऔं उपलव्धी नखोजौं, पाठ्यपुस्तकमा आधारित हैन, उनीहरु के रुचाउँछन र हाम्रो सहयोगले थप के राम्रो गर्न सक्छन त्यहि गरेर जानु उपयुक्त हुनसक्ने राय पनि सुनियो।
५. जति सानो कक्षा भयो त्यति अभिभावकलाई सङ्गै लान प्रयत्न गर्नुपर्ने रअभिभावकलाई पुस्तक कार्यमा हैन बालबालिकालाई वहाँहरुसङ्गै काममा लान प्रेरित गर्नुपर्ने अवस्था रहेकोछ ठहर भयो।
६. यी विद्यालयहरुको सेवा क्षेत्र भित्र एउटा सञ्चालनमा नरहेको एफएम स्टेशन रहेको बुझियो। तर गाउँघरमा एफ एम सुन्ने चलन रहेनछ। मोबाइलमा भएको एफ एम रेडियो पनि बालबालिकाको पहूचमा नरहेको साझा अवस्था देखियो।
७. वर्षादको मौसम भएकोले कतिपय दूर दराजको क्षेत्रमा शिक्षक पु-याउन नसकिने, शिक्षक पुग्दा पनि खाने बस्ने अवस्था नरहेकोले स्थानीय शिक्षित युवा परिचालन गर्न, सम्पर्क कक्षाहरुमा आवश्यक पर्ने भौतिक सामाग्री, शिक्षण सहयोग सामाग्री, फोटोकपी आदि गर्न र शिक्षक विकास कार्यक्रमहरु सञ्चालन गर्न स्थानीय तहको सहभागिता अनिवार्य देखियो।
८. विद्यालयहरु बिच सैध्दान्तिक रुपमा एकरुपता कायम गर्न कोशिस गरेता पनि कार्यक्रमिक रुपमा हुनसक्ने फरकलाई सहज रुपमा लिनुपर्ने देखियो। केहि वस्तिमा दुबै वा बढी विद्यालयका विद्यार्थीहरु रहेकोले संयुक्त कार्यक्रम सञ्चालन गर्नुपर्ने देखियो।
९. टेलिभिजनमा छरिएको शैक्षिक कार्यक्रमहरुलाई एउटै च्यानलको ग्रूप ? मा राखेर चलाउन सके बालबालिका र अभिभावकले ती स्रोत भेट्टाउन सकिने देखियो।
१०. यो क्षेत्रमा टेलिभिजन वैकल्पिक सिकाईको भरपर्दो स्रोत भए पनि शिक्षकहरु र विद्यार्थीहरुलाई स्वतः आकर्षित गरेको पाइएन। त्यसैगरी कार्यक्रमहरु परम्परागत कक्षाकोठाको भिडियो मात्र भएकोले शैक्षिक, प्राविधिक गुणस्तरको सुधार गर्नुपर्ने सुझाव पाइयो।
११. यी सात वटा विद्यालयहरुमध्ये बढीमा १५० र कम्तिमा २० जना गरी ३५० जति बालबालिका निजी विद्यालयबाट सार्वजनिक विद्यालयमा भर्ना हुन आएका देखियो। एउटा विद्यालयको निष्कर्ष चाहिँ अल्टिमेटली ती बालबालिका फर्के जान्छन भन्नेथियो।
ग) सम्भावनाहरु
——————–
१. सबै विद्यालयका शिक्षकहरु मिलाएर सबैको लागि एउटा अनलाइन कक्षा सञ्चाल गर्ने; अब प्रअ हरु बिच नियमित अनलाइन मिटिङ, परिस्थितिमा ठूलो फेरबदल आयो र लामो बैठक आवश्यक परेमा पालै सङ्ग सामाजिक दूरी कायम गरी यस्तै फराकिलो बैठक आयोजना गर्न राम्रो हुने देखियो।
२. स्रोत साधनको लागि स्थानीय तहको सरकार र शिक्षाको लागि साझेदारहरुसङ्ग सम्पर्क विस्तार गर्नुपर्ने देखियो।
३. निजी विद्यालयबाट सार्वजनिक विद्यालय तर्फ आकर्षित विद्यार्थी र अभिभावकहरुको मागलाई सम्बोधन गर्न केहि नीतिगत सुधार सहित विद्यालयले थप व्यवस्थापन गर्नुपर्ने देखियो।
४. समुदायमा आधारित सहजिकरणको लागि सम्पर्क कक्षा सञ्चालन गर्न समुदायमा जाँदा कोरोनासङ्ग सम्बन्धित व्यवहारिक कौशल बालबालिका र अभिभावकहरुसम्म पु-याउन सकिने देखियो। त्यसैगरी मौसम सरुवा रोगहरु, दुर्घटना, सरसफाई, सामान्य प्रविधिक सीपहरुको अतिरिक्त केहि नेतृत्व कौशल र सामान्य भाषागत र गणितीय सीपहरुबाट अगाडि बढ्न सकिने देखियो। बालबालिकाको रुची नहुने विषयहरुलाई परम्परागत कक्षाकोठाको तरिकाबाट जाँदा सुरुमा सम्पर्कमा आएका बालबालिका घट्ने देखियो।
५. केहि अगूवा विद्यालयहरुले यो प्रयत्न गर्दा बाँकि विद्यालयहरु स्वभाविक रुपमा अघि बढ्न प्रेरित हुने अवस्था पाइयो।
६. अहिले एक महिने दृष्टिकोण र त्यसमा आधारित साप्ताहिक योजना बनाएर जान सकिने देखियो।
घ) निर्णयहरु
——————
१. एक महिने दृष्टिकोण र साप्ताहिक पाठ्योजना र परियोजना कार्यहरुको योजना बनाई सबै विद्यालयहरुले यथासम्भव समुदायमा आधारित वैकल्पिक सहजिकरणको गतिविधि सुरु गर्ने निर्णय गरियो।
२. अहिले सेवाक्षत्रहरुमा जो जुन विद्यालयका बालबालिका भएता पनि सिकाईको अवसरबाट वञ्चित नहुने गरी सहभागी बनाउने र शैक्षिक सहयोग गर्ने निर्णय गरियो।
३. विद्यालयहरुले समुदायमा र अनलाइनबाट सञ्चालन गरेका वैकल्पिक शैक्षिक सिकाई गतिविधिहरुलाई सोसल मिडियाबाट सार्वजनिक गर्दै सम्बन्धित सबैलाई अनुभव आदान प्रदान र छलफलको लागि प्रेरित गर्ने निर्णय गरियो।
४. विशेषगरी वि व्य सहरुद्वारा स्थानीय तहको सरकार र स्वयमसेवी सामाजिक सङ्घ संस्थासङ्ग यो प्रयोजनको लागि साझेदारी गर्न अपिल गर्ने र समन्वयको लागि प्रयत्नशिल रहन अनुरोध गर्ने निर्णय गरियो।
५. प्रधानाध्यापकहरुको नीतिगत छलफल र अनुभव आदानप्रदान गर्ने अनलाईन संयन्त्र सुरु गरिहाल्ने निर्णय गरियो। त्यसैगरी अनलाईन कक्षा र अरु प्राविधिक कामहरुलाई अगाडि बढाउन हरेक विद्यालयको एकजना शिक्षक रहेको प्राविधिक टिम बनाउने निर्णय गरियो। आगामी बैठकबाट विषयवस्तु सार्वजनिक गर्दै सो विषयगत क्षेत्रमा सहभागी हुन चाहने अन्य विद्यालयहरुलाई पनि समावेश गर्दै जाने निर्णय गरियो। अर्को बैठक बेनिघाट रोराङस्थित चन्द्रोदय मा वि विशालटारमा आयोजना गर्न व्यवस्थापनको लागि अनुरोध गर्ने निर्णय गरियो।
६. आजको कार्यक्रमको लजिस्टिक सपोर्टको लागि सि्ड्स धादिङ र जनजागृति मा विद्यालयलाई धन्यवाद दिने निर्णय गरियो।
(लक्ष्मण शर्माको फेसबुक पेजबाट साभार)
प्रतिक्रिया दिनुहोस्