नेकपा सोलुको निष्कर्ष,-‘उपमेयर राइमाथिको आक्रमण सुनियोजित र योजनाबद्द’



लावण फुयल
सोलुखुम्बु २८ जेठ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) जिल्ला कमिटी सोलुखुम्बुले सोलुदुधकुण्ड नगरपालिकाका उपमेयर कल्पना राइमाथि भएको आक्रमणको भत्सर्ना गर्दै दोषीलाइ तत्काल पक्राउ गरी कानुनी कारबाही अगाडी बढाउन माग गरेको छ।
जिल्ला कमिटी सचिवालय सदस्य समेत रहेकी उपमेयर राइमाथिको आक्रमण योजनाबद्द र नियोजित भएको आरोप लगाउंदै सो पार्टीले आक्रमण गर्ने र गराउंने माथि गम्भीर अनुसन्धान गरी दोषी उपर कानुनी कारबाही अघि बढाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएको हो।
पार्टी अध्यक्ष मानबीर राई र सचिब गोम्बु शेर्पाद्वारा संयुक्तरुपमा बुधबार जारी बिज्ञप्तिमा नगरकार्यपालिकाको बैठकमा उपमेयर राइले आफ्नो धारणा राखि रहंदा नगरपालिका प्रबक्ता शारदामाया तामाङबाट मंगलबार भएको भौतिक आक्रमणलाइ अति अराजक,असभ्य र बर्बरतापुर्णको संज्ञा दिइएको छ।
यो घटना आकस्मिक ढंगले घटेको नभई सम्बन्धित पक्षबाट योजनाबद्द ढंगले,फरक राजनीतिक आस्था हुनेहरुमाथि भौतिक आक्रमण गराउने र निषेध गर्ने गराउने बिगतदेखिकै घटनाको निरन्तरता भएको उल्लेख गर्दै बिज्ञप्तिमा भनिएको छ,- ‘नगरकार्यपालिकाको बैठक जस्तो सम्मानित र अति जिम्मेवार ठाउँमा भएको यो असभ्य र बर्बरतापूर्ण आक्रमण उपमेयरमाथिको आक्रमणमात्र नभएर सिंगो नगरपालिका, जिल्लाका आम स्थानीय तहका जनप्रतिनिधिहरु, सभ्य समाज र गणतन्त्र माथिकै आक्रमण हो।त्यसैले यस घटनाप्रति गम्भीर हुन,आफ्नो ठाउँबाट एकताबद्द ढंगले यसको भण्डाफोर गर्न र यस्ता चरम अराजक प्रवृत्तिलाई निरुत्साहित गर्न आ-आफ्नो ठाउँबाट भुमिका खेल्न आम जनप्रतिनिधि,मानवअधिकारकर्मी, नागरिक समाज, आम जनसमुदाय र हाम्रो पार्टी पंक्तिलाई हार्दिक आव्हान गर्दछौं ।’
यसबीच,लिखुपिके गाउँपालिका उपाध्यक्ष एबम् न्यायिक समिति संयोजक प्रमिला बस्नेत कार्कीले एक बिज्ञप्ति जारी उपमेयर राइमाथी भएको आक्रमणको भत्सर्ना गरेकी छन।बिज्ञप्तिमा बिधिको साशनको धज्जी उडाउने गरि भएको सो घटनाको छानबिन गरी दोषी उपर कडा कानुनी कारबाही गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गरिएको छ।
प्रतिक्रिया दिनुहोस्