उपत्यकामा अझै लुकीछिपी भित्रिन्छन् मानिस



काठमाडौं १५ जेठ । कोरोनाको संक्रमण फैलनथालेपछि सरकारले काठमाडौं उपत्यका प्रवेशमा कडाइ गरेको छ । सरकारले गरेको कडाइ केवल बोलीमा मात्र सीमित भएको छ । भनिएजस्तो कडाई भने गरिएको देखिदैन । जसका कारण सरकारले गरेको कडाइका बीचमा पनि अझै लुकीछिपी तथा प्रहरीको आँखा छलेर आउने क्रम भने रोकिएको छैन ।

विशेष गरेर रातीको समयमा प्रहरीको जाँच कम हुने मौका छोपेर मानिस उपत्यका भित्रने गरेका छन । । अर्कोतिर पास प्राप्त गाडीमा अनावश्यक व्यक्ति प्रवेश गर्ने गरेको पनि पाइएको छ । रातिको समयमा प्रहरीले कडाइ गरेको बताए पनि त्यसरी छलेर आउने क्रम देखिएको छ ।

पछिल्लो समयमा काठमाडौं उपत्यकाको विभिन्न क्षेत्रमा कोभिड–१९ को सङ्क्रमण देखिएको छ । चन्द्रागिरि, टोखा, मैतीदेवी, बानेश्वर, कालीमाटीलगायत क्षेत्रमा बस्ने व्यक्तिमा कोभिड १९ देखिएको छ । मुलुकभर नै रोगको सङ्क्रमण दर बढ्दै जाँदा उपत्यकाको नाका सिल गर्ने कुरामा भने सरकारले कञ्जुस्याईँ गरिरहेको विभिन्न व्यक्तिहरुको धारणा छ ।

सरकारले बन्दाबन्दीको अवधि लम्ब्याउँदै उपत्यका प्रवेशमा कडाइ गरेको जनाएको छ । गृहमन्त्रालयका प्रवक्ता केदारनाथ शर्मा उपत्यकामा हुने आवागमनमा थप कडाइ गरेको प्रष्ट्याउछन । सो निर्णयलार्ई ७५ वटै जिल्लामा परिपत्र गरेर पठाइसकिएको उनको भनाइ छ । मन्त्रालयले उक्त निर्णय कार्यान्वयनका लागि उपत्यकाका १८ वटै स्थानीय तहमा परिपत्र पनि पठाएको छ । उपत्यका प्रवेश गर्ने सबै नाका अत्यावश्यक प्रयोजनका लागिबाहेक पूर्णरुपमा सिल गर्ने र लुकीछिपी आउने क्रमलाई रोक्ने गृहको निर्णयमा उल्लेख छ । श्रेष्ठका अनुसार उक्त निर्णय अझै प्रभावकारी कार्यान्वयन हुन सकिरहेको छैन ।

पछिल्लो समयमा उपत्यका भित्रिने मानिसको अभिलेख राख्न थालिएको छ । गृहमन्त्रालयले स्थानीय तहको नेतृत्वमा प्रशासनको समन्वयमा लुकीछिपी प्रवेश गर्नेको खोजी गरी लगत सङ्कलन गर्ने निर्णय यसअघि गरेको थियो । स्थानीय तहसँगको समन्वयमा सबै सुरक्षा निकायले उपत्यका प्रवेश नाकाको जाँच र निगरानीमा थप कडाइ गर्ने भनिएको थियो तर नाकामा टिपोट गरेर अभिलेख राखिएको भए पनि ती मानिस कहाँ, किन र कसरी जान्छन् यकिन गर्न सकिएको छैन ।
उपत्यकामा मानिसको प्रवेश हुँदा जनघनत्व बढ्छ । त्यसबाट रोगको सङ्क्रमण फैलियो भने नियन्त्रणमा समस्या पैदा हुन्छ । स्वास्थ्यकर्मी भारतीय सीमावर्ती क्षेत्रमा उपचारमा खटिएका बेला उपत्यकामा जोखिम बढ्यो भने त्यसले ठूलो असर गर्नेतर्फ बेलैमा ध्यान दिनुपर्ने बताउनुहुन्छ फोरमका उपाध्यक्ष तथा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन । पछिल्लो समयमा सरकारले कुनै पनि जिल्लामा मानिस आएमा स्रोत स्थानमै रोक्ने गरी सुरक्षाकर्मीलाई आवश्यक निर्देशन दिएको थियो । सोही निर्देशनअनुसार नै नाकामा प्रहरी परिचालन गरिएको महानगरीय प्रहरी कार्यालय काठमाडौंका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेल बताउछन ।

काठमाडौं आउनका लागि प्रवेश गर्न चाहने व्यक्तिले प्रवेश गर्नुपूर्व उपलब्ध भएसम्म आरडिटी परीक्षण गराउनुपर्ने व्यवस्था गरिएको थियो । उक्त रिपोर्टका साथ उपत्यका प्रवेशका लागि गृहमन्त्रालयमा अनुमति माग्नु पर्नेछ । उपत्यका आउने सवारीलाई प्रवेश बिन्दुमा पुग्नुअगावै प्रस्थान बिन्दुमा नै रोक्न भनिएको छ । तर त्यो देखिएको छैन । जसका कारण उपत्यका कोरोना संक्रमणको गति बढदै जाने पक्का छ । यसका सम्बन्धीत निकायले सयममा संयमता सावधानी अपनाउन नसके उपत्यकामा कोरोनाको महामारी ब्यापक हुने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्