कविता



छोराको नक्शा

-योगेश राल्फाली

अचेल म
सुत्नको लागि सुत्छु
उठ्नको लागि सुत्छु
विपना देख्न सुत्छु
सपना देख्न सुत्छु
एक्लै एक्लै सुत्छु
अवधि कटाउन सुत्दा
जीवन नकटोस भनी सुत्छु
सुत्छु उठ्छु पुन स् सुत्छु
जिज्ञासु छोरा !
घरिघरि उठाउँछ
र सोध्छ केके ( केके
अर्ध निन्द्रामै म
जवाफ दिन्छु सके जति
आपा ! उठ्नोस न
धेर सुत्नु हुन्न क्या !
अँ….. चुप लागन छोरा
मलाई सुत्न देउ के
बरु तिमी पढ
परिक्षा आउला ।
नआउने परिक्षाको लागि के पढ्नु
आपा ! एउटा कुरा सोध्छु नि
ल ल सोध
आपा! नेपालको नयाँ नक्शा आएछ हो
हो, आयो
पहिले पनि थियो रे नि ?
हो, थियो रे
बीचमा कहाँ गयो आपा ?
म पनि बुझ्दैछु छोरा
अनि नक्शा कोर्दैमा
भूमि फिर्ता हुन्छ त आपा ?
कुटनैतिक पहल गर्छ सरकारले
कुटनैतिक पहल भनेको के हो आपा ?
तिमी बुझ्दैनौ।।
निन्द्रामै बोलेछु ।
रमाउँदै उफ्रंदै थियो छोरा
यति… वर्ग किलोमिटर बढ्यो
नेपाल बढ्यो बढ्यो
थपियो थपियो
हाम्रो नेपाल हाम्रो नेपाल भन्दै ।
साँच्ची आपा !
पहिले पहिले उहिले
हाम्रो पनि ग्ले थियो रे नि
भन्दै केके-केके
नानाथरी सोध्दै थियो, छोरा
म भने बेस्सरी निदाएछु
फेरि उठ्नको लागि ।
केही समयपछि
फेरि सुत्नको लागि
मु ब्यूँझदै थिएँ
छोरा आउँछ रमाउँदै
र देखाउँछ नक्शाहरु
यी आपा ! मैले नि कोरें नि
के कोर्‍यौ छोरा ?
नक्शा कोरें आपा !
के को नक्शा ?
तामाङ ग्लेसा (राज्य) हरुको
कुन कुन सोधें मैले
यी आपा ! देखाउँदै भन्यो छोराले
यो घिसिङ राज्य
यो वाईबा राज्य
यो बल (दमेङ) राज्य
यो रुम्बा राज्य…केके केके भन्दै
कोरेछ छोराले
नक्शा विभिन्न राज्यहरुको
कहाँबाट पायौ छोरा ?
मिल्छ त यो नक्शा रु सोधें मैले
आपाकै किताबको चाङबाट
तामाङ राजा र राज्यहरु
निकालेर पढें आपा
आपा निदाईरहेकै बेला
अनि कोरें
अनुमानित नक्शाहरु
नमिल्न सक्छ
कुटनैतिक पहलबाट मिल्छ आपा १

धट्, लाटा !
छुट्टै राज्य हैन हाम्रो माग
अनि के हो नि आपा ! ताम्सालिङ रु
ताम्सालिङ,
हाम्रो पहिचान हो छोरा
हाम्रो माग स्वायत्तता हो
स्वतन्त्र राज्य हैन
ताम्सालिङ संघीय नेपालकै
सदस्य राज्य हाम्रो माग
हो, त्यहि हो हाम्रो पहिचान
तिम्रो जिज्ञासालाई सलाम छ, छोरा !
अब फेरि
ताम्सालिङ आउँछ त आपा ?
आउँछ छोरा
यी यसरी नै आउँछ
वर्षौ वर्ष लाग्ला
तर आउँछ ! आउउँछ !! आउँछ!!!
उसो भए घुम्न जाउँ न, आपा !
ताम्सालिङ र तामाङ राज्यहरु
हुन्छ, छोरा !
खुलोस बन्दाबन्दी ।
हो, सरकार !
बन्दाबन्दीको विकल्प देउ
यहाँ रोगले भन्दा भोकले मर्न थाले
र,
मेरा जस्तै लाखौंलाख
जिज्ञासु छोराहरु
घरि आपालाई
घरि आमालाई
जिज्ञासा तेर्साई रहेछ
थरि थरिका नक्शा कोर्दै
खुल्ला आकाशमा कावा खेल्न
रोगसँग लड्ने हिम्मतका साथ
आफ्ना किपट भूमिहरुको यात्रासँगै
गुन्सीसम्म पुग्न
कुटीसम्म पुग्न
नावीसम्म पुग्न
सिमा सुरक्षार्थ
नयाँ नक्शा कोर्दै ।

पनौती काभ्रे ।

प्रतिक्रिया दिनुहोस्