दलीय राजनीतिको विरोध गर्ने सबै राजावादी हुन् त ?



-गंगा बराल

राजतन्त्रको अन्त्य भएर गणतन्त्र स्थापना भएको भनिएको आज १२ वर्ष पुगेको छ । यो बीचमा शासन व्यवस्था राम्रो भयो कि नराम्रो भयो, जनताले न्याय पाए कि अझैपनि अन्याय नै भोगेका छन् भन्ने विषय अहिले प्रमुख रुपमा छलफल गर्नुपर्ने भएको छ । राजसंस्थाका पक्षमा बोल्नेहरुले अहिले राजनीतिक दलको विरोधमा आन्दोलन नै छेडेका छन् । अहिले शासनसत्तामा भएका राजनीतिक दलका गतिविधिलाई हेर्दा बरु राजतन्त्र नै ठिक पो रहेछ कि भन्ने विचार जाग्नु अस्वभाविक होइन ।
जनताको मन परिवर्तन हुन्छ तर दलहरु सधैं जनता मेरा पक्षमा छन् र मैले जे गरेपनि सहन्छन् र मेरो पछि लागेर चाकडीको बाजा बजाइरहन्छन् भन्ने सोच्ने गर्दछन् । हिजो राजसंस्था हुँदा राजसंस्थाको पक्षमा खुलेरै लाग्ने र जय जयकार गाउनेको संख्या कम थिएन तर अहिले राजसंस्था दुब्लाउन थालेपछि उसलाई हेप्नेमात्र होइन खोनीखोत्रो गरेर विरोध गर्नेको ताँती कम छैन । मानिसहरु सत्य र असत्य के हो भनेर छुट्याउन लाग्नुभन्दा पनि वर्तमान अवस्थामा के भन्दा र गर्दा आफूलाई फाइदा हुन्छ त्यतैतिर लाग्ने गर्दछन् । हामी लोकतन्त्र, प्रजातन्त्र, राजतन्त्र, गणतन्त्र, जनतन्त्र र अन्य जुनसकै तन्त्रका पक्षमा हुन सक्छौं तर मुख्य कुरा भनेको कुन तन्त्रमा जनता खुशी भए र रुचाए भन्ने विषय हो । गणतन्त्र स्थापना भएको १२ वर्षको अवधिमा दलले गरेका क्रियाकलापलाई मानिसले मन पराएका छैनन, नेताहरु तानाशाही र स्वार्थी बन्दै गए । जनतालाई सधैं प्रयोग गरेर उनीहरुले आफ्नो डम्फुमात्र बजाए तरपनि मानिसहरु वाध्य भएर उनीहरुको पक्षमा सधैं किन लागिरहन्छन् भन्ने कुराको ध्यान दिनु जरुरी छ ।
राजाको ईतिहास पुरानो छ, यसको सम्मान गर्नुपर्छ तर यो संस्थाको अस्तित्व रहँदा जनता पक्कै खुशी छन् त रु भनिन्छ राजसंस्थाले कहिल्यै पनि जनताको अहितमा निर्णय गर्दैन । उसलाई देशको असाध्यै माया हुन्छ, कतिपय अवस्थामा हेर्दा हो कि जस्तो लाग्छ तर राजसंस्थाले गरेका गलत कामको पनि भण्डाफोर गर्दै वास्तविकता केलाउने काम गर्नु आज सबै नागरिकको कर्तव्य हुन जान्छ ।

पूर्वराजाको पछि भीँड किन बढ्दैछ ?
२०४८ सालमा नेकपा एमालेका नेता मदनकुमार भण्डारीले तत्कालीन राजा विरेन्द्र विरविक्रम शाहलाई चुनावी प्रतिष्पर्धामा आउन चुनौती दिएका थिए । राजाको शासन चलिरहँदा उनले दिएको यो अभिव्यक्ति पक्कै पनि चानचुने थिएन, जुन कुरा अझै पनि निकै चर्चामा छ ।
अहिले अवकाश पाएपछि पूर्वराजा देश दर्शनमा निस्किने गरेका छन् । हिजो राजदरवार बाहिर पनि मानिस होलान्, उनीहरु पनि समस्यामा परेका होलान्, मेरो केही सहयोग चाहिन्छ कि भन्ने पनि नसम्झने उनले गणतन्त्र आएर रिटायर्ड भएपछि वास्तविक रुपमा देश र जनता चिन्ने मौका पाएका छन् । उनी दर्शनका क्रममा विभिन्न मठ मन्दिरमा गएर दर्शन गर्दा उनीप्रति देखाएको आस्थालाई हेर्ने हो भने राजसंस्था आइहाल्छ कि जस्तो लाग्न सक्छ । राजाले हिजो त्यसरी जनतामाझ गएर प्रतक्ष्य कुराकानी गरेर गुनासो सुनिदिएका भए राजसंस्थालाई हटाउँदा उनीहरु नै सडकमा आउँथे । दुःखको कुरा राजसंस्थको अन्त्य गरेर उनी दरवारबाट बाहिरिँदै गर्दा खासै मान्छे सडकमा देखिएनन् । अझैपनि राजसंस्था नै अन्तिम विकल्प हो भनेर विभिन्न ढंगले अभियान चलाउने व्यक्ति तथा संघसंस्था छन् तर उनीहरुको अभियान स्वयंम् ती पूर्वराजालाई थाहा छ कि छैन भन्ने प्रश्न पनि हो ।
जति नागरिक खुलेरै राजसंस्थाको पक्षमा छन्, उनीहरुबीच एकमत हुने हो भने पनि एउटा आन्दोलन नै हुने थियो । के उनीहरु साँच्चै राजसंस्था चाहिन्छ, यो त देशको अभिभावक भनेर नै लागेका हुन् कि भोलि कुनै समयमा फेरि उदय भयो भने केही अवसर पाइन्छ भनेर पछ्याएका हुन् त्योचाँही खोजिको विषय बनेको छ ।
कमल थापा र शाहको सम्वन्ध के रु
राप्रपाका तीन जनामध्ये कान्छा अध्यक्ष कमल थापा र पुर्वराजा ज्ञानेन्द्र शाहको अत्यन्तै निकट सम्वन्ध रहेको र शाहका लागि थापा सधैं सक्रिय हुने र एक आपसमा सहयोग लेनदेन गर्ने चर्चा बजारमा छ ।
राजनीतिका चतुर खेलाडी थापा सधैं आफूलाई फाइदा हुने गरी राजनीति गर्न सफल छन् । शाहले पनि बेलामौका आफूलाई थापाले सहयोग गरेको भन्दै आफूसँग आउनेलाई थापाको पार्टीमा लाग्न सुझाव दिए । राजसंस्थाको र हिन्दुराष्टको एजेण्डालाई लिएर निर्वाचनमा गएका तत्कालीन राप्रपा नेपालको यो लाइनलाई मतदाताले मन पराए र दायाँवायाँ नगरी मतदान गरे । फलस्वरुप पार्टीले एउटा हैसियत बनायो, अवसरको राजनीति गर्न रमाउने पार्टीका अध्यक्ष कमल थापाले पटकपटक उपप्रधानमन्त्रीको च्याँखे पार्न सफल भए तरपनि आफ्नो पक्षमा संविधानमा केही कुरा समेट्न नसकेको भन्दै शाह रिसाएको चर्चाले बजार तातेको थियो । अहिले थापा र राप्रपाको पार्टी कमजोरमात्र बनेको छैन, उनीहरु आफूलाई स्थापित गराउन अब जनतामा के नारा लिएर जान्छन् भन्ने हेर्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्