राजसंस्थाको पक्षमा किन बढी रहेको छ जनमत ?
-गंगा बराल
राजसंस्थाको पक्षमा किन जनमत बढ्यो ? साँच्चै भन्ने भो भने अहिले राजनीतिक दलले गलत गतिविधि गर्न थालेपछि सर्वसाधरणले पनि योभन्दा त बरु राजसंस्था नै ठिक थियो भन्न थालेका छन् ।
हुन त मानिसले पुराना कुरा दिनैपिच्छे बिर्सिदै जान्छ र अहिलेको कुरामात्र बढी सम्झन्छ । राजसंस्थाले पनि आफ्नो शासनकालमा केही राम्रो काम गरेको हुनसक्छ, त्यो शासनकालमा त्यसको चर्चा भयो तर जब राजसंस्थामाथि चौतर्फी प्रहार भयो सबै मानिस अर्कोतिर खनिए ।पटकपटक दलहरुले शासन गर्दै आए, उनीहरु अझैपनि देश र जनताप्रति गम्भीर छौं भन्दै आएका छन् तर परिणाममा त्यस्तो देखिँदैन ।
मानिसको ईच्छा भनेको आफ्नो सरकारबाट मैले केही सेवा र सुविधा पाउँ, अप्ठेरो परेको बेलामा सरकारले मलाई हेरोस् भन्ने हो । तर जसले शासन गरेको छ, उ पक्कै पनि जनताभन्दा माथि भएको अनुभुति गर्दै वास्तविक धरातल बिर्सने गर्छ । हिजो शाहवंशले जुन शासन गरेको थियो, यो जनताको शासन भयो कि भएन भनेर समीक्षा गर्ने बेला भएको छ । राजसंस्थाको अन्त्य भएर गणतन्त्र आएको खुशियालीमा केही अपवादबाहेक जनता पनि खुशी भए, घरघरमा दिपावली र हर्षबढाई गरियो ।
त्यतिबेलाका शासकहरुले राजतन्त्रकै कारण आफूहरुले देशको उन्नति र विकासमा ध्यान दिन नसकेको, कति प्रयास गर्दा पनि सम्भव नभएकाले अब भनें धेरै सजिलो भयो भने, सबैले होला नि त भने तर सत्य भने त्यस्तो रहेनछ । अहिले नेकपाको सरकार छ, आफूलाई राष्टवादीको पगरी आफैं गुताएर अरुभन्दा चोखो र आदर्श पात्र भन्न रुचाउने केपी शर्मा ओली फेरि पनि प्रधानमन्त्री भएपछि अब देख्न र बुझ्न खासै बाँकी छैन । सबै पार्टीको विरोध किन ? यो र उ भन्ने कुरा नै छैन, जनताले सबै पार्टीलाई एउटै दर्जामा राखेर हेर्न थालेका छन् ।
सबैजसो मुख्य पार्टीले कुनै न कुनै बेला सरकारको नेतृत्व गरिसकेकाले उनीहरु परीक्षण भइसकेका छन् । हिजो एमाले र माओवादी पार्टी थिए, उनीहरु अहिले स्वरुप फेरेर नेकपा भएका छन् । तर उनीहरुको नाम फेरिँदैमा काम र व्यवहार भने परिवर्तन भयो कि भएन ? बरु पार्टी एकतापछि उनीहरुले विगतमा आफूले पुरानो पार्टीका रहेर गरेका गल्ती वा कमजोरीको आममाफी पाएजस्तो गरेका छन् । माओवादीले माओवाद छोडिसके भनेको छ, त्यतिबेला जनतालाई दिएको दुःख र गरिएको अन्याया र अत्याचारको उन्मुक्ति नै पाएको हो त ? नेकपा बन्नेबित्तिकै उनीहरु सुध्रिएकै हुन त ? अवश्य पनि होइन, उता एमालेले पनि सबै राम्रो काम गरेको थियो भन्ने आधार छैन ।
आफ्नो सरकार बचाउन उसले गरेका कतिपय देशघाती सन्धी र सम्झौताको आज पनि उति नै आलोचना हुँदै आएको छ । मरिच किन चाउरिस्, आफ्नै पीरले भनेजस्तै सबैजसो पार्टीहरु ठूलो बन्दै गएपछि कुनै न कुनै कारणले टुटफुटमा लागेका छन् । २००३ सालमा स्थापना भएको नेपाली कांग्रेस नेपालको जेठो पार्टी हो तर जेठो भयो भन्दैमा उसले गरेका सबै गतिविधि देशका लागि हितमा छन् त ? भन्ने प्रश्न सधैंं तेर्सिने गरेको छ ।
एमाले पनि आन्तरिक कलहले २०५४ सालमा फुटेर माले अर्कातिर विभाजन भयो । माओवादीले पनि अरुकै सिको सिक्यो त्यसैले त्योभन्दा माथि जान सकेन । मधेशवादी दलहरुलाई त विभाजनको गुरु नै भन्दा पनि फरक पर्दैन । पद र प्राप्तिका लागि जे पनि गर्न तयार हुने उनीहरुले पनि जनताको मन जित्न सकेका छैन । विशेषगरी २ नम्बर प्रदशेलाई मात्र आफ्नो कार्यथलो बनाएका उनीहरुको आवाज जति चिच्याएपनि पत्याउने र सबैले स्विकार्ने हुन सकेको छैन ।
उता राप्रपा पनि सधैं विभाजनको शिकार बनेको छ । हिजो पटकपटक सरकार चलाएको राप्रपा पनि खिइसकेकाले इतिहासको रक्षा गर्नमै लागिपरको छ । हुन त राजनीतिमा कसको भाग्य कहिले चम्कन्छ र को कहाँ पुग्छ, अनुमान लगाउन सकिँदैन । तर पनि शासनसत्तामा हुँदा जनताको मन छुन नसकेकाले इतिहासलाई सम्झेर रमाउनुको विकल्प छैन ।