सत्तारुढ नेकपा : घरझगडा उत्कर्षमा
काठमाडौं, २५ वैशाख । नाटकीय रुपमा एकाएक साम्य भएको सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद साता दिन बित्न नपाउंदै विस्फोट हुने अवस्थामा पुगेको छ। ५ दिन अगाडी मात्रै बोलाइएको स्थायी समिति बैठकप्रति संस्थापन पक्षले देखाएको अरुचिका कारण उत्पन्न कलहले पार्टीको भविष्यप्रति नै प्रश्न चिन्ह खडा भएको कतिपय नेताहरूले बताउन थालेका मात्र छैनन् संसदीय दलका उपनेता समेत रहेका स्थायी कमिटी सदस्य सुबास नेम्वाङले त प्रधानमन्त्री केपी ओलीलाइ हटाउन खोजिए पार्टी एकता नै भंग हुने सम्मको चेतावनी दिएका छन। संस्थापन र असन्तुष्ट समुहबीच फैंलदै गएको तिक्तताको यो डढेलोले संसदको सबैभन्दा ठूलो दल नेकपालाई कतिबेला खरानी बनाउने हो कार्यकर्ताहरु चिन्तित बन्न थालेका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०मा अध्यक्ष तथा प्र धानमन्त्री केपी शर्मा ओलीले विधि तथा पद्धति नमानेको र पार्टीभित्र निरंकुशता हावी भएको भन्दै २० जना स्थायी समिति सदस्यहरु रुष्ट बनेका छन्।
पार्टी केन्द्रीय कार्यलय धुम्बाराहीमा भएको भेलाले तत्काल स्थायी कमिटी बैठक बोलाउन माग गरिएको नेकपा स्थायी कमिटी सदस्य टोप बहादुर रायमाझीले जानकारी दिए । तत्काल स्थायी कमिटी बैठक बोलाएर बैठकमा सबै विषयमा छलफल हुनुपर्ने विषयमा सबै सदस्यको एक मत रहेको उनले बताए ।
नेकपाले विहीबार ११ बजेका लागि बोलाएको स्थायी कमिटी बैठक एजेण्डामा सहमति जुट्न नसक्दा स्थगित भएको छ । यसअघि वैशाख १० गते भीम रावल, सुरेन्द्र पाण्डे, मातृका यादव, टोपबहादुर रायमाझी लगायत २० जना स्थायी कमिटी सदस्यले तत्काल पार्टीको स्थायी कमिटी बैठक बोलाउन माग गर्दै अध्यक्षद्धयलाई मागपत्र बुझाएका थिए ।
कोरोना भाइरसको माहामारीका बेला एकजुट भई लड्ने बेलामा राजनीतिक दललाई नै कमजोर बनाउने गरी अध्यादेश ल्याएको भन्दै स्थायी कमिटी बैठक बसेर त्यसपछि केन्द्रीय कमिटी बैठक बोलाउन उनीहरुको माग छ । वैशाख २० गतेको सचिवालय बैठकले २६ बैशाखमा स्थायी कमिटी बोलाउने निर्णय गरेको थियो ।
त्यसको एजेण्डा तय गर्न बुधबार साँझ सचिवालय बैठक डाकिएको थियो । बुधबारको सचिवालय बैठकमा शीर्ष नेताहरुबीच कुरा मिल्न नसक्दा स्थायी कमिटी बैठक अन्यौल बनेको छ ।
स्थायी समिति सदस्य देवेन्द्र पौडेलका अनुसार पार्टीलाई एकतावद्ध बनाउने, विधि, प्रक्रियामा पार्टी सञ्चालन गराउने उद्देश्यले आजको छलफल बोलाइएको हो। नेकपाका एक स्थायी समिति सदस्यका अनुसार पार्टीका बैठक भनेको समयमा राख्न अध्यक्ष ओलीले चासो नदेखाएपछि सांकेतिक विरोधस्वरुप पार्टी कार्यालयमा नेताहरु भेला भएको बताइएको छ।
असन्तुष्टमध्येका केही नेताहरु बिहिवार पार्टी कार्यालय धुम्बाराहीमा भेला भएका थिए । भेलामा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र अर्का अध्यक्ष पुष्पकमल दाहाल समूहका नेताहरु सहभागी भएका हुन । ४५ जना सदस्य रहेको स्थायी कमिटीमा २० जना नेताहरुले तीब्र असन्तुष्टि व्यक्त गर्दै आएका छन । असन्तुष्ट रहनेमा अष्टलक्ष्मी शाक्य, गणेश साह, गोकर्ण बिष्ट, चक्रपाणी खनाल, जनार्दन शर्मा, टोपबहादुर रायमाझी, देवप्रसाद गुरुङ, देवेन्द्र पौडेल, पम्फा भुसाल, बेदुराम भुसाल, भीमप्रसाद आचार्य, भीमबहादुर रावल, मणिचन्द्र थापा, मातृकाप्रसाद यादव, मुकुन्द न्यौपाने, युवराज ज्ञवाली, रघुजी पन्त , लिलामणी पोखरेल, सुरेन्द्रप्रसाद पाण्डे, हरिबोलप्रसाद गजुरेल रहेका छन् ।