बजारमा कृत्रिम अभावको चर्को आतंक
काठमाडौं । कोरोना भाइरसको त्रासका कारण सर्वसाधारणहरु आतंकित भइरहेका बेला अहिले बजारमा ह्वात्तै कालोबजारी बढ्न थालेको छ । कृत्रिम अभाव देखाउँदै व्यापारीहरुले अधिकांश सामानहरुको मूल्य वृद्धि गरेपछि उपभोक्ताहरु मारमा छन् । भाइरसको जोखिम कम गर्ने प्रयासमा राज्य संयन्त्र जुटी रहेको फाइदा उठाउँदै व्यापारीहरुले कोरोनाकोभन्दा बढ्दो आतंक सिर्जना गर्नु खेदजनक विषय हो ।
कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि सर्वसाधारणले प्रयोग गर्दै आएको माक्स, सेनिटाइजर र अन्य मेडिकलजन्य सामानहरु पछि अहिले दैनिक उपभोग्य सामाग्रीहरुसम्मको कालोबजारी सुरु भएको छ । यो कालोबजारीका कारण न्यून आय भएका आमउपभोक्ताको दैनिक जीवन प्रभावित हुनु नौलो कुरा होइन । २०७२ सालको महाभूकम्प र छिमेकी मुलुक भारतले लगाएको नाकाबन्दीलाई नै बिर्साउने गरी सुरु भएको कृत्रिम अभावका कारण सरकारसमेत आक्रोसित बन्न पुग्नु सामान्य कुरा होइन । बजारमा बढ्दो कृत्रिम अभावको महसूस गरेर नै हुन सक्छ बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सार्वजनिक रुपमै कालो बजारी नियन्त्रणका लागि सेना परिचालन गर्नेसम्मको चेतावनी दिइसकेका छन् ।
नेपाल आयल निगम र साल्ट टे«डिङ करपोरेशनले खाना पकाउने एलपी ग्यासको अभाव तत्काल नहुने सूचना पटक पटक जारी गरेपनि आमउपभोक्ताहरु विश्वस्त हुन सकिरहेका छैनन । कोरोना भाइरसको बढ्दो त्रासमा रहेका आमउपभोक्ताहरुको मनोविज्ञानलाई बुझेर व्यापारीहरुले कालोबजारी सुरु गर्न थालेपछि उपभोक्ताहरु विश्वस्त हुन नसकेका हुन् । जसका कारण ग्याँस डिलसहरुमा यति बेला रिक्ता सिलिन्डरहरुको लाम लाग्न थालेको छ । चाहिनेभन्दा बढी ग्याँसको भण्डारण गर्न उपभोक्तहरुले सुरु गरेपछि विक्रेताहरुले यसको फाइदा उठाउन थालेको कतिपयको बुझाइ छ । उपभोक्ताको यही गलत प्रवृक्तिका कारण पनि विक्रेताहरुले एलपी ग्याँसको कृत्रिम अभाव खडा गरेको कतिपयको बुझाइलाई गलत भनिहाल्ने अवस्था छैन ।
मंगलवार मात्रै ग्यास र पेट्रोलियम पदार्थमा कृत्रिम अभाव सिर्जना गर्ने दुई बिक्रेतालाई जनही दुई लाख रुपैयाँ जरिवाना गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ । सत्याल एण्ड किराना पसल टीकाभैरव र मैतीदेवी पेट्रोल पम्पललाई मंगलबार २÷२ लाख रुपैयाँका दरले जरिवाना गरेको जनाएको छ । विभागको अनुगमनका क्रममा सत्याल एण्ड किनाराले ग्यास तथा किराना सामानको कृत्रिम अभाव सिर्जना गरेको पाइएको विभागले जनाएको छ । यस्तै मैतीदेवी पेट्रोलियम सप्लायर्स मैतिदेवीले कृत्रिमअभाव सिर्जना गरेर इन्धन भण्डारण गरेको विभागले फेला पारेको थियो । बुधबार विभागको टोलीले १० वटा फर्म तथा सप्लायर्समा अनुगमन गर्दा ४ वटालाई जरिवाना गराएको विभागले जनाएको छ । कुनै पनि वस्तुमा कृत्रिम अभाव सिर्जना गर्ने, तोकिए भन्दा बढी मूल्य लिने काम कुनै पनि व्यपारिक फर्महरुले गरे सम्पर्क गर्न विभागले आग्रह गरेको छ ।
उपभोक्ताले ११३७ मा फोन गरेर विभागमा गुनासो गर्न सक्नेछन् ।
यसैबीच विभिन्न ८ विद्यार्थी संगठनले कालोबजारी र अनियमतिता रोक्नको लागि बजार अनुगमन गर्ने निर्णय गरेका छन् । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको भातृ संगठन अनेरास्ववियू, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको भातृ संगठन नेविसंघ, समाजवादी विद्यार्थी युनियन, राष्ट्रिय विद्यार्थी संघ, अखिल छैठौं, अखिल (क्रान्तिकारी), अखिल (क्रान्तिकारी) र राप्रविसं (संयुक्त) लगायत विद्यार्थी संगठनको मंगलबार काठमाडौंमा बसेको बैठकले बजार अनुगमन गर्ने निर्णय गरेको हो । कोरोनाभाइरस संक्रमण फैलन सक्ने भन्दै उच्च सतर्कता अपनाइरहेको मौका छोपेर व्यापारीहरूले कृतिम अभाव सिर्जना गरेपछि विद्यार्थी संगठनले बजार अनुगमन गर्ने निर्णय गरेका हुन्।