संविधान संशोधन कार्यदल विघटन : ओली–दाहाल राजनीतिक जोडघटाउको सिकार बन्दै गौतम



काठमाडौं । वरिष्ठ नेता माधव कुमार नेपालको नेतृत्वमा गठित संविधान संशोधन कार्यदल औपचारिक रुपमै निस्कृय भएको छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले गठन भएको पाँच दिन पनि नबित्दै हिजो भंग गरेपछि कार्यदल निस्कृय भएको हो । कार्यदल निस्कृय भएसंगै पार्टी उपाध्यक्ष बामदेव गौतम प्रधानमन्त्री बन्ने बाटो तत्कालका लागि बन्द हुन पुगेको छ । प्रधानमन्त्री ओली पक्षधर नेताकार्यकर्ताहरुको दवावका कारण प्रधानमन्त्री बन्ने बाटो बन्द भएपनि गौतमले सांसदका रुपमा संसदमा प्रवेश गर्ने अवसर भने प्राप्त गरेका छन् । तत्कालका लागि यही अवसरलाई उपाध्यक्ष गौतमको जीतका रुपमा हेरिएको छ ।
तत्कालीन नेकपा (एमाले) र माओवादी केन्द्रको एकतापछि एउटै पार्टी नेकपा बने पनि नेतृत्वको जोडघटाउको कोपभाजनमा कतिपय निर्णयहरु पर्ने गरेका छन् । गठन भएको हप्ता दिन पनि नबित्दै संविधान संशोधन कार्यदल विघठन हुनुलाई पनि सोही अर्थमा लिइएको छ । संघीय संसद प्रतिनिधिसभाको निर्वाचनमा पराजित भएपनि पार्टी एकताका सुत्राधारको रुपमा सत्तारुढ नेकपामा गौतमको भूमिकालाई महत्वपूर्ण मानिन्छ । यही भएका कारण पार्टी नेतृत्वका लागि नेकपाभित्र प्रतिस्पर्धी मानिएका दुई अध्यक्ष ओली र पुष्पकमल दाहालको तानातानमा उनी पर्ने गरेका छन् । यो तानातानले कहिले गौतमलाई फाइदै पुगेपनि कतिपय अवस्थामा ठूलै घाटा हुने गरेको घटनाक्रमले पुष्टि गरेको छ । पार्टीभित्र स्थापित हुदै गएको ओली–दाहाल गुटको आपसी राजनीतिमा सर्वसम्मत उपाध्यक्ष चयन हुन सफल गौतमका लागि ओली पक्ष अनुदार भइ दिँदा प्रधानमन्त्री बन्ने उनको उत्कट चाहना भने सफल हुन सकेको छैन ।
निर्वाचनमार्फत प्रतिनिधिसभामा आउने गौतमको प्रयासमा प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष ओली पटक पटक अवरोध बनेको आरोप उनका निकटष्थहरुले लगाउने गरेका छन् ।पटक पटकको प्रयास असफल भएपछि संविधान संशोधन गराएर राष्ट्रियसभामा जाने गौतमको चाहना पनि पछिल्लो पटक सफल हुन सकेन । गौतमलाई नै लक्षित गरी राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने संवैधानिक व्यवस्थाका लागि गर्न लागिएको संविधान संशोधनको प्रयास विफल बनाउने कुरामा पनि ओली पक्षकै भूमिका अहम रहेको बुझ्न कठिन छैन । विपक्षी दलहरुले जतिसुकै चर्को विरोध गरेपनि नेकपा एक ढिक्का भएको भए संविधान संशोधन कार्यदल पानीको फोका बन्ने थिएन । कार्यदल विघटन हुनुमा महत्वपूर्ण भूमिका ओलीका प्रिय पात्र मानिएका पार्टी संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको छ । गत शनिवार अध्यक्ष प्रचण्डको निर्देशनमा गठन भएको कार्यदलमा सदस्य रहेका नेम्वाङले संविधान संशोधनको औचित्यमाथि प्रश्न उठाउदै त्यसमा बस्न अस्वीकार गरेका थिए । नेम्वाङको घोषणापछि अप्ठेरोमा परेका अर्का सदस्य खिमलाल देवकोटा ले पनि कार्यदलमा बस्ने कुरामा हिम्मत गर्न सकेनन् । सदस्यहरुबाटै संशोधनको विरोध भएपछि संविधान संशोधनका लागि सहमत भएर कार्यदल गठन गर्न निर्देशन दिएका दाहालले समेत त्यसको बचाउ गर्ने नैतिक हैसियत राखेनन् । अन्ततः कार्यदल विघटन भयो । प्रधानमन्त्री ओलीको अनिच्छाका बाबजुद अध्यक्ष दाहालसहित वरिष्ठ नेताद्वय माधव कुमार नेपाल र झलनाथ खनालको सहमतिमा संविधान संशोधन कार्यदल गठन भएको थियो । सो निर्णय सार्वजनिक भएसंगै नेकपामा ओली पक्षीय भनेर चिनिने नेता कार्यकर्ताहरु सार्वजनिक रुपमै त्यसको विरोधमा उत्रिएका थिए ।
अध्यक्ष प्रचण्डको यो निर्णय असफल बनाएर ओलीले एमसीसी अध्ययन कार्यदल गठनको बदला लिएको बुझ्नेहरुको
पनि कमी छैन । नेकपाको दोस्रो पूर्ण बैठकमा एमसीसी अध्ययन कार्यदल गठन हुनुको पछाडि प्रचण्डकै हात रहेको ओलीको बुझाइ छ । बैठक उद्घाटनकै क्रममा तत्काल एमसीसी सम्झौता पास गर्ने घोषणा गरेका अध्यक्ष ओलीलाई कार्यदल गठनले ठूलो झट्का लागेको महसूस त्यति बेलै नभएको होइन वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा गठित सो कार्यदलले संशोधन विना अमेरिकासंग एमसीसी सम्झौता गर्न नहुने निष्कर्षसहितको आफ्नो प्रतिवेदन पार्टी सचिवालयलाई बुझाएको छ । कार्यदलको सो प्रतिवेदनका कारण अध्यक्ष ओली अप्ठेरोमा परेका छन् । विना संशोधन एमसीसी पारित गर्नुपर्ने अमेरिकी अडानले ओली नेतृत्वको वर्तमान सरकारका लागि एमसीसी सम्झौता नखाउ भने दिनभरिको सिकार खाउ भने कान्छा बाउको अनुहार जस्तै बन्न पुगेको छ । कार्यदलको प्रतिवेदनपछि नेकपामा बहुमत नेताकार्यकर्ताहरु संशोधनको पक्षमा उभिएका कारण पनि प्रधानमन्त्री ओलीलाई जस्ताको त्यस्तै एमसीसी सम्झौता संसदबाट पारित गर्न सम्भव छैन ।
उता संविधान संशोधन कार्यदल विघटन गरेपनि बुधवार बसेको नेकपा सचिवालय बैठकले राष्ट्रिय सभामा रिक्त हुन लागेको सदस्यको कोटामा उपाध्यक्ष वामदेव गौतमलाई मनोनित गर्न राष्ट्रपतिलाई सिफारिसका लागि सरकारलाई अनुरोध गर्ने निर्णय भने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्